spot_img

‘अन्तिम पटक’ भन्दै मत माग्दै शरतसिंह भण्डारी चुनावी मैदानमा

spot_img
spot_img

महोत्तरी,१३ फागुन । शरतसिंह भण्डारी महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ मा यसपटक ‘अन्तिम निर्वाचन’ भन्दै भावनात्मक अपिलसहित मतदातामाझ पुगेका छन्। जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार भण्डारी चार दशकभन्दा बढी समयदेखि निरन्तर चुनावी प्रतिस्पर्धामा रहँदै आएका छन्।

७१ वर्षीय भण्डारीले घरदैलोका क्रममा यसैपटकपछि आफू चुनाव नलड्ने घोषणा गर्दै समर्थन मागिरहेका छन्। “यो मेरो अन्तिम प्रतिस्पर्धा हो, यसपछि चुनाव लड्दिनँ,” उनले मतदातासँग भनेका छन्।

उनले मधेशमाथि विभेद निरन्तर रहेको दाबी गर्दै संविधान संशोधनलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। वर्तमान संवैधानिक र कानुनी संरचनाबाट आमूल परिवर्तन सम्भव नरहेको तर्क गर्दै उनले संसद्मा पुगेर संशोधन र पुनर्लेखनको पहल गर्ने बताएका छन्।

घरदैलोमा मतदाताबाट ‘जितेपछि फर्केर नआउने’ नेताप्रति गुनासो आउने गरेको उनी स्वीकार्छन्। सीमित स्रोतसाधन, कर्मचारीतन्त्रको ढिलासुस्ती र संरचनागत जटिलताले मधेशको विकास अपेक्षाअनुसार हुन नसकेको उनको भनाइ छ। त्यसको असर मधेशी, दलित, आदिवासी तथा पिछडिएका समुदायले बढी भोगिरहेको उनले उल्लेख गरेका छन्।

२०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायत निर्वाचन जित्दै राजनीतिमा उक्लिएका भण्डारी १९ पटक मन्त्री भइसकेका छन्। मधेश केन्द्रित राजनीतिमा अनुभवी र प्रभावशाली नेताका रूपमा चिनिए पनि एउटै अनुहार पटक–पटक दोहोरिँदा मतदातामा अपेक्षा र प्रश्न दुवै बढेका छन्।

यस क्षेत्रमा भण्डारीसँगै नेपाली कांग्रेसकी किरण यादव, नेकपा एमालेका कासिम नदाफ र राष्ट्रिय स्वतन्त्र पार्टीका दीपककुमार साहबीच प्रतिस्पर्धा हुने देखिएको छ।

२०७४ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका भण्डारीले कांग्रेसकी यादवलाई १६ हजार ७४८ मतान्तरले पराजित गरेका थिए। २०७९ सालमा भने लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेका उनले पाँचदलीय गठबन्धनको समर्थनमा पुनः जित निकाले।

यसपटक चुनावी समीकरण फेरिएको छ। अघिल्लो चुनावमा प्रतिस्पर्धी रहेको तराई मधेश लोकतान्त्रिक पार्टी अहिले जसपामा समाहित भइसकेको छ। यसले भण्डारीको मत आधार बलियो हुनसक्ने आकलन भए पनि गठबन्धनको अभावमा स्वतन्त्र मतदाताको झुकाव निर्णायक बन्ने देखिन्छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय