spot_img

पर्सा–३ मा रुपेश पाण्डेको घरदैलो तीव्र, विकास र पारदर्शितालाई मुख्य एजेन्डा

spot_img
spot_img

वीरगंज, १३ फागुनरुपेश पाण्डेले पर्सा निर्वाचन क्षेत्र नं. ३ मा आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्। बुधबार उनले बिन्दवासिनी गाउँपालिकाको वडा नं. १ र २ मा उत्साहपूर्ण घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गर्दै स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन्।

घरदैलो अभियानअन्तर्गत हरिनगर, गर्दौल र बहुअर्वा क्षेत्रमा पुगेका पाण्डेले स्थानीय बासिन्दासँग भेटघाट गरी शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीका विषयमा विस्तृत छलफल गरे। उनले जनताका गुनासा र सुझावलाई ध्यानपूर्वक सुन्दै समाधानमुखी योजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उम्मेदवार पाण्डेले आफू अरू नेताजस्तो खोक्रो आश्वासन नदिने स्पष्ट पार्दै पूरा गर्न सकिने योजना मात्र सार्वजनिक गर्ने बताए। “राजनीतिमा नयाँ अनुहार भए पनि म पर्सा–३ का हरेक गाउँ पुगेर जनताको वास्तविक अवस्था बुझिसकेको छु। अब स्वच्छ सोच, स्पष्ट योजना र इमान्दार प्रयासमार्फत विकासलाई गति दिनेछु,” उनले भने।

उनले क्षेत्रको समग्र विकासका लागि गुणस्तरीय शिक्षा विस्तार, सहज स्वास्थ्य सेवा पहुँच, आधुनिक कृषि प्रवर्द्धन र युवालाई लक्षित रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने योजना प्रस्तुत गरे। साथै, पारदर्शिता र जवाफदेहितालाई मुख्य आधार बनाएर जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्‍याए।

घरदैलो अभियानका क्रममा स्थानीय युवा तथा महिला मतदाताले पाण्डेलाई फूलमाला तथा खादा लगाएर स्वागत गरेका थिए। उनीहरूले परिवर्तन र विकासका लागि यसपटक नयाँ सोचका उम्मेदवारलाई जिताउन सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेकपा (एमाले) का स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अभियान दिनप्रतिदिन जनसमर्थन बढ्दै गएको दाबी गर्दै पाण्डेले आगामी दिनमा पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय