spot_img

बैंक खातामार्फत मात्रै निर्वाचन खर्च गर्न आयोगको निर्देशन, उल्लंघन गरे कारबाही हुने चेतावनी

spot_img
spot_img

काठमाडौं,१३ फागुन । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खर्च बैंक खातामार्फत मात्र गर्न राजनीतिक दल र उम्मेदवारलाई पुनः निर्देशन दिएको छ।

आयोगले बैंक खाता नखोली वा खाता खोले पनि बैंकिङ कारोबार नगरी खर्च गर्ने दल वा उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको मानिने र प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको हो।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार हालसम्म ९ वटा राजनीतिक दल र १ हजार ३८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याएका छन्। तोकिएको व्यवस्था उल्लंघन गरे निर्वाचन आचारसंहिताअनुसार कारबाही गरिने उनले स्पष्ट पारे।

हाल बैंक खाता सञ्चालनमा ल्याएका दलहरूमा नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाल कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी लगायतका दल छन्। तर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता ठूला दलहरूले समेत हालसम्म बैंक खाता सञ्चालन नगरेको आयोगले जनाएको छ।

आयोगका अनुसार २५ हजार रुपैयाँभन्दा बढी रकम प्राप्त गर्दा अनिवार्य रूपमा बैंक खातामार्फत नै कारोबार गर्नुपर्ने व्यवस्था छ। निर्वाचन आचारसंहिताको दफा १६ मा उम्मेदवारहरूले उम्मेदवारी दर्ताका क्रममा अनुमानित खर्च र स्रोत खुलाउनुपर्ने उल्लेख छ।

साथै उम्मेदवारले निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्न, जिम्मेवार पदाधिकारी तोक्न र सबै आय–व्ययको बिल–भरपाई सुरक्षित राख्नुपर्ने प्रावधान पनि छ। निर्वाचनलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको आयोगले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय