काठमाडौं,१४ फागुन । थाइल्याण्ड, म्यान्मा, लाओस र कम्बोडियामा सञ्चालित अनलाइन ठगी (स्क्यामिङ) केन्द्रमा फसाइएका ३९२ नेपाली नागरिकको उद्धार गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार सन् २०२२ यता सम्बन्धित देशका सरकारसँगको समन्वयमा त्यस्ता नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको हो। हाल थप ३०९ जना नेपाली उद्धार प्रक्रियामा रहेका छन्।
कम्प्युटरसम्बन्धी ज्ञान भएका तथा युएई, मलेसियाजस्ता मुलुकमा वैदेशिक रोजगारीको अनुभव भएका नेपालीलाई उच्च तलबको प्रलोभन देखाएर सीमाक्षेत्रमा लैजाने गरिएको मन्त्रालयले जनाएको छ। त्यहाँ पुगेपछि उनीहरूलाई अनलाइन डेटिङ, क्यासिनो, गेमिङ, फिसिङ, क्रिप्टो ठगीलगायत गतिविधिमा संलग्न गराउन दबाब दिने गरिएको पाइएको छ।
लक्ष्य पूरा गर्न नसके आर्थिक तथा शारीरिक शोषण, राहदानी खोस्ने, बन्धक बनाउने र ठूलो रकम असुल्ने जस्ता दुर्व्यवहार हुने गरेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए।
म्यान्माको अदालतले गैरकानुनी रूपमा प्रवेश गरेको अभियोगमा १८ जना नेपालीलाई एक वर्ष कैद सजाय सुनाएको छ। याङ्गुनस्थित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले यसबारे म्यान्माका सरकारी पदाधिकारीसँग भेट गरी छलफल गरिरहेको मन्त्रालयले जनाएको छ।
दक्षिणपूर्व एसिया तथा प्रशान्त महाशाखाका प्रमुख प्रकाश अधिकारीका अनुसार पीडितहरू नेपाली दूतावासको सम्पर्कमा आएपछि सम्बन्धित देशको परराष्ट्र मन्त्रालयमार्फत उद्धारको पहल गरिन्छ। स्थानीय कानुनी प्रक्रिया पूरा भएपछि बैंकक हुँदै स्वदेश फिर्ता गरिने गरिएको छ।
तर, हवाई टिकट खर्च, सीमाक्षेत्रमा कर्मचारी खटाउन आर्थिक अभाव र सशस्त्र समूहको नियन्त्रणमा रहेका क्षेत्रमा सञ्चालन हुने स्क्याम केन्द्रका कारण उद्धार प्रक्रिया जटिल र ढिलो हुने गरेको मन्त्रालयले जनाएको छ।
भारत, चीन, फिलिपिन्स, भियतनामलगायत देशले उद्धार गरिएका आफ्ना नागरिकमाथि कानुनी अनुसन्धान गर्ने अभ्यास गरेको उदाहरण दिँदै नेपालमा पनि उद्धार गरिएकालाई छानबिनको दायरामा ल्याउनुपर्ने आवाज उठेको छ। केही व्यक्तिहरू पीडितभन्दा पनि संगठित अपराधमा संलग्न हुनसक्ने आशंका व्यक्त गरिएको छ।
मन्त्रालयले आकर्षक तलब, ‘सुनौलो अवसर’ वा सजिलो आम्दानीको प्रलोभन देखाउने एजेन्ट वा ब्रोकरप्रति सचेत रहन आग्रह गरेको छ। वैदेशिक रोजगारीका लागि यात्रा गर्दा श्रम स्वीकृति लिएर मात्र जान, गन्तव्य देशसँग नेपालको औपचारिक श्रम सम्झौता छ–छैन बुझ्न र भिजिट भिसामा उच्च जोखिमयुक्त देश नजान विशेष आग्रह गरिएको छ।
मन्त्रालयले अनलाइन ठगी नियन्त्रण र उद्धार प्रयासलाई तीव्र बनाइरहेको जनाउँदै समस्यामा परेका नेपालीले सम्बन्धित दूतावास वा मन्त्रालयको सम्पर्कमा तुरुन्त आउन आग्रह गरेको छ।




