काठमाडौं,१४ फागुन । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आज एकैदिन तीन स्थानमा चुनावी सभा आयोजना गर्दैछ।
पार्टीका अनुसार सुर्खेत, बाँके र रूपन्देहीमा आज सभाहरू हुनेछन्। यसअघि कांग्रेसले फागुन ६ गते जनकपुरमा पहिलो चुनावी सभा आयोजना गर्दै प्रतिज्ञापत्र सार्वजनिक गरेको थियो।
आज हुने सभाहरूमा सभापति गगन कुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरू सहभागी हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। नेताहरू हेलिकप्टरमार्फत सभास्थल पुग्ने जनाइएको छ। सम्बन्धित प्रदेशका प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवार र स्थानीय नेताहरूको पनि उपस्थिति रहनेछ।
कांग्रेसले भोलि फागुन १५ गते पोखरामा र फागुन १७ गते काठमाडौंमा समेत चुनावी सभा गर्ने तयारी गरेको छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशमा पनि सभा आयोजना गर्ने तयारी भए पनि मिति भने तय हुन बाँकी रहेको बताइएको छ।




