spot_img

सर्वोच्चको आदेशपछि रुपेश पाण्डेयको उम्मेदवारी कायम, क्षेत्र नं.–३ मा एमाले उत्साहित

spot_img
spot_img

वीरगंज । नेकपा (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुपेश कुमार पाण्डेयको उम्मेदवारी कायम रहने स्पष्ट भएको छ। सर्वोच्च अदालतका इजलास नम्बर–७ का न्यायाधीश मेघराज पाखरेलले पाण्डेयविरुद्ध दायर उत्प्रेषण मुद्दामा कारण देखाउ आदेश जारी गरेपछि उनको उम्मेदवारी यथावत् रहने कानुनी आधार बलियो बनेको हो।

पाण्डेयविरुद्ध सोही क्षेत्रका एक उम्मेदवार छोटेलाल प्रसाद यादवले निर्वाचन आयोग, कान्तिपथ काठमाडौंलाई समेत विपक्षी बनाउँदै उम्मेदवारी खारेज गर्न माग गरी रिट दायर गरेका थिए। रिटमा बैंक ऋण नतिरेको विषय उठाउँदै कर्जा सूचना केन्द्रको कालोसूचीसम्बन्धी प्रसंग उल्लेख गरिएको थियो।

यसअघि निर्वाचन आयोगले कर्जा सूचना केन्द्रबाट प्राप्त विवरणका आधारमा पाण्डेयसँग स्पष्टीकरण मागेको थियो। उजुरी परेपछि आयोगले कानुनी प्रक्रिया अघि बढाएको र सोही सन्दर्भमा विषय सर्वोच्च अदालतसम्म पुगेको बताइएको छ। अदालतबाट तत्काल उम्मेदवारी रोक्न कुनै आदेश नआएकाले पाण्डेय चुनावी मैदानमा सक्रिय रहने भएका छन्।

जनतामाझ सक्रिय पाण्डेय

उम्मेदवारी दर्तापछि नै घरदैलो, भेटघाट तथा जनसंवाद कार्यक्रमलाई तीव्र बनाएका पाण्डेय यतिबेला क्षेत्र नम्बर–३ का विभिन्न वडामा व्यस्त छन्। स्थानीय विकास, युवा रोजगारी, कृषि आधुनिकीकरण र पूर्वाधार विस्तारलाई मुख्य एजेन्डा बनाउँदै उनी मतदातामाझ पुगिरहेका छन्।

एमाले पक्षले पाण्डेयको बढ्दो जनसमर्थन देखेर विपक्षीहरूले अनावश्यक विवाद सिर्जना गर्न खोजेको आरोप लगाएको छ। एमाले पर्साका इन्चार्ज प्रभु हजराले भने, “जनताको साथ र समर्थन देखेर आत्तिएका केही शक्तिहरू अदालतको आडमा राजनीतिक खेल खेल्न खोजिरहेका छन्। तर सत्य र जनमतको जित निश्चित छ।”

एमाले नेतृत्वले यस प्रकरणलाई राजनीतिक रूपमा चरित्र हत्या गर्ने प्रयासको संज्ञा दिएको छ। उम्मेदवार पाण्डेयले बैंकिङ विषयलाई चुनावी हतियार बनाइनु लोकतान्त्रिक अभ्यासको उपहास भएको टिप्पणी गरे।
“निर्वाचन आयोग बैंकको लेनदेन हेर्ने निकाय होइन। कानुनले दिएको अधिकारअनुसार म चुनाव लड्दैछु। जनताको सेवा गर्ने मेरो अभियान रोकिँदैन,” उनले प्रतिक्रिया दिए।

विकास र स्थायित्वको प्रतिबद्धता

रुपेश कुमार पाण्डेय लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका नेता हुन्। क्षेत्र नम्बर–३ मा शिक्षा, स्वास्थ्य, सडक तथा सिँचाइ क्षेत्रमा देखिएका समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

उनका समर्थकहरूका अनुसार, पाण्डेयको स्पष्ट दृष्टिकोण, संगठनात्मक पकड र जनसम्पर्क शैलीका कारण क्षेत्र नम्बर–३ मा एमालेको स्थिति बलियो बन्दै गएको छ।

अदालतको आदेशसँगै उम्मेदवारी कायम भएपछि पाण्डेय पक्ष उत्साहित देखिएको छ भने चुनावी प्रतिस्पर्धा झनै रोचक बन्ने अनुमान गरिएको छ। एमाले कार्यकर्ताहरूले “जनताको मत नै अन्तिम फैसला” भन्दै घरदैलो अभियानलाई अझ सशक्त बनाउने बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय