बीरगन्ज,१४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार सुशील कुमार कानुलाई आफ्नै वडामा मतदाताले स्वागत र समर्थन जनाएका छन्।
बिहीबार चुनावी घरदैलो अभियानअन्तर्गत बीरगन्जमहानगरपालिका–१० का विभिन्न टोलमा पुगेका कानुलाई स्थानीयबासीले स्वागत गरेका हुन्। उनले आदर्शनगर, अशोकवाटिका र घडिअर्वा क्षेत्रमा मतदातासँग भेटघाट गरेका थिए।
घरदैलोका क्रममा कानुले बीरगन्जलाई कुशासनमुक्त बनाउँदै व्यवसायमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। विगत चार दशकदेखि चल्दै आएको राजनीतिक अभ्यासले जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन नसकेको उल्लेख गर्दै उनले अब नयाँ राजनीतिक संस्कार र सुशासन आवश्यक रहेको बताए।
पर्सा देशकै महत्त्वपूर्ण औद्योगिक तथा व्यापारिक जिल्ला भए पनि निर्वाचित प्रतिनिधिको बेवास्ताका कारण विकासमा पछि परेको उनको भनाइ थियो। क्षेत्रको सडक, पूर्वाधार र व्यापार–व्यवसायको अवस्था सुधारका लागि सङ्घीय, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी योजनाबद्ध विकास अघि बढाउने उनले प्रतिबद्धता जनाए।
औद्योगिक सम्भावनालाई प्राथमिकतामा राख्दै ठूला विकास आयोजना सञ्चालन गर्ने आफ्नो योजना रहेको उनले बताए।




