बीरगन्ज,१४ फागुन । जनमत पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सर्राफले बुधबार संकल्प पत्र सार्वजनिक गरेका छन्। पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको संकल्प पत्रमा उनले वीरगञ्जको समग्र विकास, रोजगारी सृजना र सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन्।
संकल्प पत्र सार्वजनिक गर्दै सर्राफले जनसहभागितामै दिगो परिवर्तन सम्भव हुने उल्लेख गरे। व्यवसाय र समाजसेवाको अनुभवले विकासमा जनताको प्रत्यक्ष सहकार्य आवश्यक हुने निष्कर्षमा पुगेको उनको भनाइ थियो।
रोजगारी र सुशासनमा जोड
सर्राफले वीरगञ्जलाई रोजगारीयुक्त, व्यवस्थित र समृद्ध सहर बनाउने लक्ष्य लिएको बताए। बेरोजगारी न्यूनीकरण, स्वास्थ्य सेवाको सुदृढीकरण, सडक पूर्वाधार सुधार, फोहोर व्यवस्थापन तथा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिक कार्यसूचीमा राखिएको उनले जनाए।
‘ड्रिम प्रोजेक्ट’ सार्वजनिक
संकल्प पत्रमा उनले केही महत्वाकांक्षी योजना समेत अघि सारेका छन्। लामो समयदेखि अधुरो रहेको नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार आधुनिक क्रिकेट तथा बहुउद्देश्यीय रंगशालाका रूपमा विकास गर्ने योजना उल्लेख गरिएको छ। हालसालै नेपाली क्रिकेटले ICC Men’s T20 World Cup 2026मा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय पहिचान बनाएको सन्दर्भमा वीरगञ्जलाई खेलकुद केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य उनले राखेका छन्।
त्यस्तै, वीरगञ्जको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन आधुनिक ढल तथा फोहोर प्रशोधन प्रणाली सञ्चालन, उद्योगजन्य प्रदूषण नियन्त्रण र नदी किनार हरियाली प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाइएको छ।
स्वास्थ्य पूर्वाधार विस्तार
नारायणी अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति गर्दै वीरगञ्जलाई प्रदेशस्तरीय स्वास्थ्य हब बनाउने लक्ष्य पनि संकल्प पत्रमा समेटिएको छ।
संकल्प पत्रको अन्त्यमा सर्राफले मतदातालाई आफ्नो चुनाव चिह्न “लाउडस्पिकर हर्न”मा मतदान गर्न आग्रह गरेका छन्।




