काठमाडौं, १४ फागुन । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै हवाई उडान यथावत् सञ्चालन हुने भएका छन्।
निर्वाचन आयोगले निर्वाचन सुरक्षा र मतदान प्रक्रियामा आवश्यक सहजीकरणसम्बन्धी निर्णय गर्दै गृह मन्त्रालयलाई हवाई सेवा नियमित सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन पत्राचार गरेको हो।
आयोगको निर्णयअनुसार मतदानका दिन आन्तरिक र बाह्य उडानहरू रोकिने छैनन्। साथै, उडानको टिकट लिएका यात्रुले विमानस्थलदेखि आफ्नो घर वा बसोबास गर्ने होटलसम्म र त्यहाँबाट पुनः विमानस्थलसम्म यात्रा गर्दा निजी सवारी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारी प्रयोग गर्न पाउने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिइएको छ।
यसअघि केही निर्वाचनहरूमा आन्तरिक हवाई उडान अस्थायी रूपमा स्थगित गरिने अभ्यास थियो। सोही सन्दर्भमा नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरीसमेत जारी गर्दै आएको थियो। यसपटक भने आयोगले उडान सञ्चालन यथावत् राख्ने निर्णय गरेको हो।




