spot_img

मिथिलाञ्चलका गाउँ–गाउँमा होली पूर्वसन्ध्यामा जोगिरा सुरु

spot_img
spot_img

महोत्तरी,१४ फागुन । होली पर्व नजिकिँदै गर्दा मिथिलाञ्चलका गाउँ–गाउँमा ‘जोगिरा’ गाउने परम्परा सुरु भएको छ। महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकाका प्रत्येक टोलमा ढोल, तासा, मृदङ्ग, डम्फु र झ्यालीसहित जोगिरा गायन भईरहेको छ।

जलेश्वर नगरपालिका–७ का वडाध्यक्षसमेत रहनुभएका होलैया रामछविला यादवका अनुसार, जोगिरा गाउने परम्परामा युवा, वृद्ध र वयस्क छुट्टाछुट्टै समूहमा गाउँका घरघरबाट भेला भएर होली पर्वलाई निम्तो दिने सांस्कृतिक गीत प्रस्तुत गर्दै आएका छन्।

विनोद मण्डलका अनुसार जोगिरामा लोकभाका, गीत, चुटकिला, हाँसोठट्टा र जिस्काउने तीतामिठा वाक्य–शब्दलाई लयमा मिलाएर गाउने परम्परा रहेको छ, जसले मौलिक संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ।

पिपरा गाउँपालिका–७ का सञ्चारकर्मी एवं होलैया नवीन मिश्रले बताए अनुसार, होलीको अवसर पारेर युवाहरू देश–विदेशबाट गाउँ फर्किएका छन् र रातभरि जोगिराको धुनले गाउँ–टोलमा मनोरञ्जनको वातावरण सिर्जना गरेको छ।

जलेश्वर–९ का होलैया जीतेन्द्र सिंहले भने, “हामी समूहमा भेला भएर जोगिरा गाइरहेका छौं, यसले परम्परा संरक्षण र पुस्तान्तरणमा मद्दत गर्छ।”

रामबाबु चौधरीका अनुसार, जोगिराले गाउँमा भाइचारा, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध निर्माण गर्न मद्दत पुर्‍याउँछ। महोत्तरीसहित नेपाल–भारतका सम्पूर्ण मिथिलाञ्चलका गाउँमा होलीको एक दिन पहिलेदेखि जोगिरा गायन चल्ने परम्परा छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय