काठमाडौँ,१४ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापा ले २०७४ सालको निर्वाचनपछि राजनीतिक गतिशीलतामा समस्या देखिनुले मुलुक अहिले जटिल अवस्थामा पुगेको बताएका छन्।
कर्णालीको सुर्खेतमा बिहीबार सम्पन्न कांग्रेसको चुनावी सभामा सभापति थापाले संविधानसभामार्फत संविधान जारी भएपछि मुलुकले विकास र सुशासनको गति समात्नुपर्ने भए पनि राजनीतिक दलहरू सरकार बनाउने र ढाल्ने प्रक्रियामा व्यस्त भएको बताए। उनले भने, “कहीं न कहीं त्रुटि भयो। गठबन्धन संस्कृतिले राजनीति फोहोर बनायो। विकास र सुशासनमा अपेक्षित गति आउन सकेन।”
सभापति थापाले कांग्रेसले मुलुकलाई भविष्यमा कुनै पनि दुर्घटना वा अस्थिरताको सामना गर्न नदिने प्रतिबद्धता व्यक्त गरे। उनले मतदातालाई सचेत गराउँदै भने, “अब नेपालमा सरकारको गोलीले निहत्था मारिनु, मुकुण्डोधारीले सिंहदरबारसहित सरकारी सम्पत्ति जलाउनु जस्ता अवस्था हुन सक्दैन। यसको सुनिश्चितता कांग्रेसले गर्नेछ।”
सभापति थापाले कर्णालीबासीलाई कांग्रेसलाई मतदान गरी देशलाई स्थिर, सुरक्षित र विकासमुखी मार्गमा अगाडि बढाउने अवसर दिन आग्रह गरे।




