काठमाडौं,१४ फागुन। प्रतिनिधिसभा निर्वाचनका लागि मत सर्वेक्षण र कुनै उम्मेदवारको पक्षपोषण हुने गरी समाचार सम्प्रेषण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
सेतोपाटी अनलाइनले निर्वाचन आचारसंहिता विरुद्ध समाचार प्रकाशन गरेको भन्दै काठमाडौं विश्वविद्यालय स्कुल अफ ल मा अध्ययनरत विद्यार्थीहरु आयुष बडाल, आकाश ढकाल र अधिवक्ता आभास रेग्मीले त्यस्ता समाचार प्रकाशन गर्न रोक लगाउन परमादेशको माग गर्दै सर्वोच्चमा रिट दिएका हुन् । एक अनलाइनले पत्रकार आचारसिंता,२०७३ र निर्वाचन आचारसंहिता,२०८२ विपरित नागरिकको संविधान प्रदत्त धारा २७ गोपनियताको हकलाई निष्तेज गर्ने, भ्रम पैदा गर्ने काम गरेको निवेदनमा उल्लेख गरिएको छ ।
उक्त अनलाइनले प्रकाशत गरेको “चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचनः रेणु दाहाल दोस्रो”, “काठमाडौं–३ मा मुख्य प्रतिस्पर्धा राजु पाण्डे र कुलमान घिसिङ बिच”, मिति २०८२र११र८ मा “दाङ,२ मा रास्वपाका विपिन आचार्य अरुभन्दा धेरै अगाडि”, मिति २०८२र११र१० मा “रुपन्देही–२ मा अरु उम्मेदवारभन्दा रास्वपाका सुलभ खरेल धेरै अगाडि” र मिति २०८२र११र११ मा “काठमाडौं–६ मा यसपाली पनि रास्वपाका शिशिर खनाल अगाडि” शिर्षकका सामाग्री प्रथम दृष्टि मै गैरसंवैधानिक, गैरकानूनी, बदनियतपूर्ण एवं स्वेच्छाचारी हुनुका साथै अन्तराष्ट्रिय मानवअधिकार कानूनको सर्वथा बिपरित रहेको तर्क गरिएको छ । त्यस्तै बिहीबार नै उक्त अनलाइनको रिट पनि दर्ता भएको छ ।
सो अनलाइनले निर्वाचन आयोग र प्रेस काउन्सिललाई विपक्षी बनाएर रिट निवेदन दिएको हो । मतदाताको भनाइ राख्न पाउनुपर्ने मागसहित रिट दर्ता गरिएको हो । दुवै रिट बिहीबार दर्ता भएको र शुक्रबारका लागि पेशी तोकिएको छ ।




