बीरगन्ज,१४ फागुन । नेपाली कांग्रेस का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजाल ले जगरनाथपुर गाउँपालिका वडा नम्बर २ लक्ष्मीपुरमा घरदैलो तथा जनता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।
चुनावी अभियानलाई तीव्रता दिँदै रिजाल बिहीबार मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष संवादमा सहभागी भएका थिए। कार्यक्रममा उनले स्थानीय बासिन्दासँग क्षेत्रको विकास निर्माण, पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवाको सुदृढीकरण तथा युवाका लागि रोजगारी सिर्जना जस्ता विषयमा विस्तृत छलफल गरेका थिए।
संवादका क्रममा रिजालले आफूले विगतमा सम्पन्न गरेका विकासे योजनाहरूको विवरण प्रस्तुत गर्दै अधुरा तथा बाँकी परियोजनालाई निर्वाचन जितेपछि प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय बासिन्दाले सडक स्तरोन्नति, सिंचाइ सुविधा विस्तार, व्यवस्थित खानेपानी तथा युवामुखी रोजगारी कार्यक्रम सञ्चालनमा विशेष ध्यान दिन आग्रह गरेका थिए।
घरदैलो कार्यक्रममा क्षेत्रीय नेता, स्थानीय अगुवा, पार्टी कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा देखिएको जनसहभागिताले पर्सा–४ मा कांग्रेसप्रति जनसमर्थन थप सुदृढ बन्दै गएको दाबी स्थानीय नेताहरूले गरेका छन्।




