spot_img

निर्वाचन नजिकिँदै जाँदा जाली नोटको जोखिम बढ्ने

spot_img
spot_img

जनकपुर,१५ फागुन ।  प्रतिनिधि सभाको आसन्न निर्वाचनलाई लक्षित गर्दै बजारमा जाली नोटको कारोबार बढ्न सक्ने भन्दै सरोकारवालाले सचेत रहन आग्रह गरेका छन्। विशेषगरी भारतसँग सीमा जोडिएका तराई–मधेशका जिल्लामा यस्तो जोखिम उच्च रहने आँकलन गरिएको छ।

नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालयले सम्भावित जोखिमलाई मध्यनजर गर्दै जलेश्वरमा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। निर्वाचनका बेला नगद कारोबार उल्लेख्य रूपमा बढ्ने, गाउँ–गाउँसम्म रकम ओसारपसार हुने तथा अस्थायी शिविर र प्रचारप्रसारमा नगद प्रयोग अधिक हुने भएकाले जाली नोट चलनचल्तीमा आउन सक्ने बैंकको भनाइ छ।

नेपाल राष्ट्र बैंक जनकपुरका निर्देशक डिलाराम सुवेदीले निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा सचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार सर्वसाधारण, व्यापारी, बैंक तथा वित्तीय संस्थालाई जाली नोटबाट जोगाउन विशेष अभियान सुरु गरिएको हो। “नगद कारोबार गर्ने व्यक्तिले जाली नोट चिन्न सक्ने अवस्था बने प्रवेशद्वारमै त्यस्ता नोट रोक्न सकिन्छ,” उनले बताए।

कार्यक्रममा सहभागी शिक्षक श्यामसुन्दर ठाकुरले बैंकबाट रकम झिक्दा केही जाली नोट फेला परेको अनुभव सुनाए। उनले सुरुआतमा आफैंले नक्कली नोट छुट्याउन नसकेको तर राष्ट्र बैंकमा परीक्षण गर्दा एउटा नोट जाली भएको पुष्टि भएको बताए। त्यसपछि आफूले जाली नोट पहिचानबारे थप जानकारी पाएको उनको भनाइ थियो।

कार्यक्रममा विद्यार्थी, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी–व्यापारी तथा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। बैंकका कर्मचारीहरूले जाली र सक्कली नोट छुट्याउने तरिका, जाली नोट फेला परेमा अपनाउनुपर्ने प्रक्रिया तथा त्यस्तो कारोबारमा संलग्नलाई हुने कानुनी कारबाहीबारे जानकारी गराएका थिए।

साथै, नेपाल राष्ट्र बैंक जनकपुरका उपनिर्देशक अमिष ढुङ्गेल र सहायक निर्देशक गङ्गेशकुमार झाले जाली नोट पहिचानसम्बन्धी प्राविधिक जानकारी प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रतिनिधि सभा निर्वाचन २०८२ का केही उम्मेदवारको समेत उपस्थिति रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय