सर्लाही,१५ फागुन । डाँका–चोरीसम्बन्धी तीन फरक मुद्दामा कुल १८ वर्ष १५ दिन कैद सजाय सुनाइएका एक फरार अभियुक्तलाई प्रहरीले लालबन्दीबाट पक्राउ गरेको छ।
हरिवन नगरपालिका–६ निवासी ३३ वर्षीय मदनबहादुर लामा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो। लामाविरुद्ध जिल्ला अदालतले विभिन्न मितिमा फैसला सुनाउँदै क्रमशः सात वर्ष दुई महिना पाँच दिन, पाँच वर्ष आठ महिना पाँच दिन र पाँच वर्ष दुई महिना पाँच दिन कैद सजाय तोकेको थियो।
तीनवटै मुद्दामा गरी अदालतले एक लाख ७५ हजार रुपैयाँ जरिवानासमेत निर्धारण गरेको प्रहरीले जनाएको छ। चुनावको समय पारेर लालबन्दी बजार क्षेत्रमा घुमिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।
प्रहरीले उनलाई बिहीबार सर्लाही जिल्ला अदालतमा पेश गरेको थियो। अदालतको आदेशअनुसार उनलाई १८ वर्ष १५ दिन कैद भुक्तानका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए।
अदालतको आदेशलगत्तै लामालाई कारागार कार्यालय मलङ्गवा चलान गरिएको प्रहरीले जनाएको छ।




