झापा,१५ फागुन । केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी एक्लै चुनावी मैदानमा उत्रने घोषणा गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका ओलीले आफ्नै निर्वाचन क्षेत्रमा सञ्चालन भइरहेको घरदैलो अभियानका क्रममा पत्रकारसँग कुरा गर्दै एमालेले स्पष्ट बहुमत हासिल गर्ने दाबी गरे। उनले एमालेलाई निर्णायक शक्तिका रूपमा स्थापित गर्न आममतदाताको व्यापक साथ प्राप्त भइरहेको बताए।
झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका ओली यतिबेला विभिन्न बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट र घरदैलो कार्यक्रममा सक्रिय छन्। उनले स्थिर सरकार र विकासका लागि एमालेको विकल्प नरहेको उल्लेख गर्दै मतदातालाई पार्टीको पक्षमा उभिन आग्रह गरेका छन्।




