spot_img

निर्वाचन अवधिभर मदिरा बिक्री–सेवनमा रोक, मतदानका दिन सवारी सञ्चालनमा कडाइ

spot_img
spot_img

काठमाडौँ,१५ फागुन । प्रतिनिधिसभा निर्वाचन आउन अब ६ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले आजदेखि अन्तिम मत परिणाम घोषणा नभएसम्म मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ अनुसार गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको सिफारिस र पारित सुरक्षा योजनाका आधारमा उक्त निर्णय गरेको जनाएको छ। समग्र सुरक्षा अवस्थाको समीक्षा तथा जोखिम मूल्याङ्कनपछि गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइएको छ।

आयोगले निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गराउन पनि गृह मन्त्रालयलाई निर्देशन दिएको छ। जिल्ला आचारसंहिता अनुगमन समितिलाई निषेधित गतिविधि हुन नदिन सक्रिय परिचालन गर्न र उल्लङ्घन भएमा तत्काल कानुनी कारबाही गरी आयोगलाई जानकारी गराउन भनिएको छ। यसका लागि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ।
मतदानका दिन सवारी साधनमा कडाइ
मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन — एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकाय, विद्युत्, खानेपानी तथा ढल मर्मतसम्बन्धी सवारी — निर्बाध सञ्चालन हुनेछन्। साथै, दूरसञ्चार मर्मतका सवारी, कूटनीतिक नियोगका सवारी तथा पास प्राप्त सवारीसाधन सञ्चालन गर्न पाइनेछ।

सार्वजनिक तथा निजी सवारीसाधन भने फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म सञ्चालनमा रोक लगाइनेछ। अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने यथावत् सञ्चालन हुनेछन्। हवाई यात्रुका लागि विमानस्थल आवतजावतमा आवश्यक सहजीकरण मिलाइने आयोगले जनाएको छ।
मतदान गर्न आवश्यक कागजात
प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ अनुसार मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सक्नेछन्। यसबाहेक राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्रमध्ये कुनै एक कागजात साथमा लिएर पनि मतदान गर्न पाइनेछ।

मतदाता नामावलीमा नाम समावेश भएका नागरिकलाई मतदानमा सहभागी गराउन सुरक्षाकर्मी र कर्मचारीमार्फत आवश्यक सूचना प्रवाह गरिने आयोगले जनाएको छ।

मतदानको दिन सवारी पास वितरणका लागि आयोगको सचिवालय परिसरमा विशेष एकाइ स्थापना गरिनेछ, जहाँ निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रतिनिधि कर्मचारी खटाइने व्यवस्था मिलाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय