काठमाडौं,१५ फागुन ।बीबीसीको एक अनुसन्धानले गत सेप्टेम्बर ८ मा काठमाडौंमा भएको प्रदर्शनका क्रममा निहत्था युवामाथि घातक बल प्रयोग गर्न तत्कालीन प्रहरी नेतृत्वबाट आदेश दिइएको दाबी गरेको छ।
अनुसन्धानअनुसार राजधानीमा भएको उक्त प्रदर्शनमा ज्यान गुमाएका १९ जनामध्ये विद्यालय पोसाक लगाएका १७ वर्षीय श्रीयम चौलागाईं पनि थिए। भिडियो प्रमाणका आधारमा उनी भीडबाट बाहिरिने प्रयास गरिरहँदा टाउकोको पछाडिबाट गोली लागेको उल्लेख गरिएको छ। घटनामा दर्जनौं अन्य प्रदर्शनकारी घाइते भएका थिए।
बीबीसीले फेला पारेको प्रहरीको आन्तरिक कागजातमा ‘पिटर १’ कल साइन प्रयोग गर्ने अधिकारीले कर्फ्यू लागू भएको केही मिनेटमै “आवश्यक बल प्रयोग गर्न” निर्देशन दिएको उल्लेख छ। स्रोतका अनुसार उक्त कल साइन तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रयोग गर्ने गरेका थिए।
खापुङले आदेश दिएको विषय अस्वीकार नगरे पनि नेपाल प्रहरीले भने सरकारी सुरक्षा समितिको स्वीकृतिपछि र कानुनी प्रावधानअनुसार अन्य विकल्प प्रयोग गरिसकेपछि मात्रै यस्तो निर्णय लिइएको दाबी गरेको छ। नोभेम्बरमा अवकाश प्राप्त गरेका खापुङले यसबारे थप प्रतिक्रिया दिएका छैनन्।
आन्दोलनको पृष्ठभूमि
सेप्टेम्बरको सुरुआतमा राजनीतिक भ्रष्टाचारविरुद्ध युवाहरूले सामाजिक सञ्जालमार्फत व्यापक असन्तुष्टि व्यक्त गर्दै प्रदर्शनको आह्वान गरेका थिए। ‘युथ अगेन्स्ट करप्सन’ नामक अनलाइन समूहमार्फत संसद भवन बाहिर भेला हुने योजना बनेको थियो। प्रदर्शनमा करिब ३० हजार युवा सहभागी भएको अनुमान गरिएको छ, जुन सुरक्षाकर्मीको प्रारम्भिक अनुमानभन्दा धेरै बढी थियो।
प्रदर्शन उग्र बनेपछि संसद परिसर आसपास तनाव चुलिएको थियो। अश्रुग्यास र लाठीचार्जपछि स्थिति नियन्त्रणबाहिर गएको र त्यसपछि गोली चलेको विवरण सार्वजनिक भएको छ।
छानबिन जारी
भदौ २३ को घटनाबारे सार्वजनिक छानबिन प्रक्रिया जारी रहेको छ। हालसम्म कसैलाई औपचारिक रूपमा जिम्मेवार ठहर गरिएको छैन। आगामी फागुन २१ मा आम निर्वाचन हुने तय भएकाले घटनाले राजनीतिक माहोलसमेत तातेको छ।
नेपाल २००८ मा गणतन्त्र घोषणा भएपछि लोकतान्त्रिक अभ्यासमा अघि बढिरहेको मुलुक हो। तर बेरोजगारी, भ्रष्टाचार र राजनीतिक अस्थिरताप्रति असन्तुष्ट युवापुस्ताको असन्तोषले पछिल्लो समय सडक आन्दोलनको रूप लिएको विश्लेषकहरू बताउँछन्।




