spot_img

उम्मेदवार र परिवारको बैंक खातामा आयोगको कडाइ, आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही चेतावनी

spot_img
spot_img

काठमाडौं,१५ फागुन । निर्वाचन खर्चलाई पारदर्शी र व्यवस्थित बनाउन निर्वाचन आयोग ले प्रतिनिधि सभा सदस्यका उम्मेदवार मात्र होइन, उनीहरूका एकाघरका परिवारका सदस्यहरूको बैंक खातासमेत निगरानीमा राख्ने निर्णय गरेको छ।

आयोगले यसअघि नै राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्न र सम्पूर्ण खर्च बैंकिङ प्रणालीमार्फत मात्रै गर्न निर्देशन दिएको थियो। तर, अधिकांश उम्मेदवारले उक्त निर्देशन पालना नगरी नगद तथा बैंकिङ प्रणाली बाहिरबाट खर्च गरेको पाइएपछि निगरानी कडा बनाइएको हो।

निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक तथा आयुक्त सगुन शमशेर जबराले बैंक खातामार्फत खर्च नगर्ने उम्मेदवारलाई आचारसंहिता उल्लंघनको आधारमा कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे। उनका अनुसार जिल्लास्तरमै उम्मेदवारको खर्चबारे अनुगमन भइरहेकाे छ।

जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीले निर्वाचन सामग्रीसम्बन्धी खर्चको अनुगमन गरिरहेका छन् भने कोष तथा लेखा नियन्त्रण कार्यालयका अधिकृतहरूले उम्मेदवारको वित्तीय कारोबारको निगरानी गरिरहेका छन्। आयोगले यस विषयमा नेपाल राष्ट्र बैंक लाई पनि पत्राचार गरिसकेको जनाएको छ।

आयुक्त जबराका अनुसार यदि उम्मेदवारले पुरानै बैंक खाता प्रयोग गरी चुनावी खर्च गरेको पाइएमा उम्मेदवार तथा उनका परिवारका सदस्यहरूको बैंक खाताको कारोबार समेत जाँचको दायरामा ल्याइनेछ। छुट्टै खाता नखोली निर्देशन उल्लंघन गरेमा निर्वाचन कसुर ऐन अन्तर्गत कारबाही गरी ‘ब्ल्याकलिस्ट’मा राख्नेसम्मको निर्णय हुन सक्ने चेतावनी आयोगले दिएको छ।

आयोगले सबै उम्मेदवारलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न सहयोग गर्न आह्वान गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय