सिरहा,१५ फागुन । सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा टिपर सफा गर्ने क्रममा करेन्ट लाग्दा एक चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय मनिक लाल साहका ४३ वर्षीय छोरा सन्तोष साह रहेका छन्। शुक्रबार बिहान टिपर सफा गरेपछि पानी ओछ्याउने क्रममा गाडीको हाइटोली (ढाला) उठाउँदा माथि रहेको विद्युत् तारमा छोइएपछि करेन्ट लागेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीका अनुसार हाइटोली उठाउँदा गाडीको पछाडिको भाग विद्युत् लाइनमा पुगेको थियो। करेन्ट लागेसँगै टिपरको केही भागमा आगलागीसमेत भएको थियो।
करेन्ट लागेको थाहा पाएपछि चालक साह गाडीबाट बाहिर हाम फालेका थिए। गम्भीर घाइते अवस्थामा उनलाई तत्काल स्थानीय अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




