spot_img

प्रतिनिधिसभा निर्वाचन सुरक्षामा ३ लाख ४१ हजारभन्दा बढी जनशक्ति परिचालन

spot_img
spot_img

काठमाडाै,१५ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरेको छ। स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउने उद्देश्यसहित निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयअनुसार विभिन्न सुरक्षा निकायका जनशक्ति परिचालन गरिएको हो।

तथ्यांकअनुसार नेपाली सेनाबाट ७९ हजार ७ सय २७, शसस्त्र प्रहरी बलबाट ३४ हजार ५ सय ७६, नेपाल प्रहरीबाट ७५ हजार ७ सय ९७, राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ९ सय २१ र म्यादी प्रहरीतर्फ १ लाख ४९ हजार ९० जना परिचालन गरिएको छ।

निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिका संयोजक समेत रहेका निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराले हालसम्म देशभर शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको बताएका छन्। आयोगले नियमित रूपमा सुरक्षा निकायका प्रमुखहरूसँग समन्वय गर्दै देशको सुरक्षा अवस्थाबारे जानकारी लिइरहेको र अहिलेसम्म कुनै गम्भीर सुरक्षा चुनौतीको रिपोर्ट नभएको उनले उल्लेख गरे।

उनका अनुसार निर्वाचनको वातावरण थप सुरक्षित र विश्वसनीय बनाउन विगतका चुनावभन्दा केही अघि नै सेना परिचालन गर्ने निर्णय गरिएको हो। अघिल्ला निर्वाचनमा सेनालाई तेस्रो सुरक्षा घेरामा राखिँदा प्रभावकारितामा प्रश्न उठेकाले यसपटक आवश्यक परे पहिलो घेरामै परिचालन गर्न सकिने गरी मोडालिटी तय गरिएको स्पष्ट पारिएको छ।

निर्वाचन सुरक्षा समितिको पहिलो बैठकले नै निर्वाचनमा सेना प्रयोगबारे सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो। प्रतिनिधिसभा निर्वाचन यही फागुन २१ गते हुँदैछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय