सर्लाही,१५ फागुन । सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाएसँगै सर्लाहीमा भन्सार छलीका सामान बरामद हुने क्रम बढेको छ। सशस्त्र प्रहरी बल नेपालले करिब ३२ लाख ८३ हजार ७५० रुपैयाँ मूल्य बराबरका अवैध सामान नियन्त्रणमा लिएको जनाएको छ।
विशेष सूचनाका आधारमा खटिएको टोलीले भारतबाट भन्सार छली गरी ल्याइँदै गरेको सामानसहित दुई वटा पिकअप गाडी र चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो। प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लिला बहादुर कार्कीको नेतृत्वमा गएको टोलीले सर्लाहीको पर्सा–५ स्थित सिमानाकामा मोटरसाइकलमार्फत ल्याइएको सामान दुई पिकअपमा लोड गर्दै गरेको अवस्थामा फेला पारेको थियो।
बरामद सामानमध्ये १ हजार ७८५ केजी भारतीय फूलको अनुमानित मूल्य करिब ७ लाख १४ हजार रुपैयाँ रहेको छ। त्यस्तै, विभिन्न कपडाजन्य सामग्रीको मूल्य करिब ८ लाख ८३ हजार ७५० रुपैयाँ आकलन गरिएको छ। नियन्त्रणमा लिइएका दुई पिकअप गाडी र चार मोटरसाइकलको मूल्य समेत जोड्दा करिब २४ लाख रुपैयाँ पुग्ने प्रहरीको भनाइ छ।
बरामद सबै सामान र सवारी साधन थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सर्लाही भन्सार कार्यालयमा बुझाइएको छ। सशस्त्र प्रहरीले पछिल्लो समय सर्लाहीका सीमावर्ती क्षेत्रमा गस्ती तथा निगरानी थप कडा पार्दै अवैध गतिविधि नियन्त्रणमा सक्रियता बढाएको जनाएको छ।




