spot_img

जिराभवानीमा अवैध काठसहित ट्याक्टर नियन्त्रणमा

spot_img
spot_img

बीरगन्ज,१५ फागुन । पर्साको जिराभवानी गाउँपालिका–५, हरैया का स्थानीयबासीहरूले राष्ट्रिय वनबाट अवैध कटानी गरी तस्करी हुँदै गरेको ठूलो परिमाणको काठ नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्।

बिहीबार राति करिब ७:०० बजे प्र–२–०३–००१ त ३८०० नम्बरको ट्याक्टर वडा नं। ३, सहजानपुर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। ट्याक्टरमा सतिसाल र सिसौ जातका लोपोन्मुख प्रजातिका काठ लोड गरिएको अवस्थामा फेला परेको बताइएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएको काठ र ट्याक्टर इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पठाएर आवश्यक कारबाही अघि बढाइनेछ।

स्थानीयवासीहरूले गादीमाई साझेदारी वन समूहका अध्यक्ष सहरुम राउत गद्दीको संलग्नतामा लामो समयदेखि राष्ट्रिय वनबाट अवैध काठ तस्करी हुँदै आएको आरोप लगाएका छन्। घटनामा समूहका अध्यक्षले काठ र ट्याक्टर छुटाउन प्रहरी चौकीमा उपस्थित भएको दाबी पनि स्थानीयले गरेका छन्।

डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजनल वन अधिकृत मन्जुर अहमदले भने, “प्रहरीले काठ र ट्याक्टर बुझाएपछि कानुन बमोजिम आवश्यक कारबाही अघि बढाइनेछ।”

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय