बीरगन्ज,१५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार सुशील कुमार कानुले कृषकहरूका लागि समयमै मल तथा खाद उपलब्ध गराउने र रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार बहुदरमाई नगरपालिका–४, डकैला बहुआरी टोलमा आयोजित घरदैलो कार्यक्रममा कानुले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै कृषकहरूले बर्सेनि मल र खादको अभावका कारण ठूलो नोक्सानी व्यहोर्नु परेको बताएका छन्। उनले निर्वाचित भए कृषि आपूर्ति प्रणाली व्यवस्थित गरी मल–खाद समयमै उपलब्ध गराउने सुनिश्चितता दिने दाबी गरे।
“कृषकहरूको पीडा मलाई राम्रोसँग थाहा छ। तरकारी खेतीका लागि आवश्यक मल समयमै उपलब्ध गराउने, उत्पादन सुरक्षित राख्न कोल्ड स्टोर निर्माण गर्ने र बजारसम्म सहज पहुँच पुर्याउने व्यवस्था तत्काल गर्छु,” कानुले बताए।
उनले उच्च शिक्षाको पहुँच विस्तार गर्दै स्थानीय स्तरमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने र पर्सा स्थित मधेस विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्थाको रूपमा विकास गर्ने योजना अघि सारे।
त्यस्तै, खेलकुद पूर्वाधार विकासमा पनि ध्यान दिँदै बहुदरमाई क्षेत्रमा राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्न मिल्ने रङ्गशाला निर्माण गर्ने र वीरगञ्जस्थित नारायणी रङ्गशालाको स्तरोन्नति गर्ने योजना रहेको उनले जानकारी दिए।
कानुले रोजगारी सिर्जनाका लागि उद्यमशीलता विकास, सीपमूलक तालिम तथा स्वरोजगार कार्यक्रम अघि बढाउने पनि उल्लेख गरे।
घरदैलोमा स्थानीयले विगतका जनप्रतिनिधिहरूले आश्वासन मात्र बाँडेको गुनासो गर्दै नयाँ सोच र योजनासहित आएका उम्मेदवारलाई समर्थन गर्ने इच्छा व्यक्त गरेका थिए। कार्यक्रममा रास्वपाका नेता–कार्यकर्ता, बुद्धिजीवी र विभिन्न पेशासँग आबद्ध व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।




