वीरगंज,१५ फागुन – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश पाण्डेयले आफ्नो घरदैलो अभियानलाई निरन्तरता दिएका छन्। शुक्रबार उनले पोखरिया नगरपालिका–९ अन्तर्गत रानीगञ्ज र रहरिया टोलमा घरदैलो कार्यक्रम सञ्चालन गरेका हुन्।
घरदैलो अभियानका क्रममा उम्मेदवार पाण्डेयले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए। सो अवसरमा स्थानीय बासिन्दाले खानेपानी, सडक स्तरोन्नति, शिक्षा, स्वास्थ्य सेवा सुधार तथा रोजगारीका अवसर सिर्जनालगायतका विषयहरू उठान गरेका थिए।
उम्मेदवार पाण्डेयले क्षेत्रको समग्र विकासलाई उच्च प्राथमिकतामा राख्दै आधारभूत पूर्वाधार निर्माण, कृषि आधुनिकीकरण तथा प्रवर्द्धन, साना तथा मझौला उद्यममार्फत युवालाई रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जनताबाट प्राप्त सुझाव र गुनासोलाई आगामी योजना तथा कार्यक्रम निर्माणमा समेटेर प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विश्वास दिलाए।
घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अभियानलाई थप प्रभावकारी बनाउँदै क्षेत्रका अन्य वडाहरूमा समेत भेटघाट तथा जनसम्पर्क कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।




