जनकपुर,१५ फागुन । नेपाली कांग्रेसका नेता एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार विमलेन्द्र निधिले संविधानलाई सही मार्गमा लागू गर्न सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताएका छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेता निधिले मुलुकमा देखिएको राजनीतिक अस्थिरता, व्यवस्थाप्रति बढ्दो असन्तुष्टि र सङ्घीय संरचनाको प्रभावकारी कार्यान्वयनमा देखिएका चुनौतीप्रति चिन्ता व्यक्त गरे। उनले संविधानलाई ‘लिकमा ल्याउन’ सबै तहका सरकार र राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताए।
उहाँले भने, “संविधान उत्कृष्ट दस्तावेज हो, तर यसको सफल कार्यान्वयनका लागि इमान्दारिता र प्रतिबद्धता आवश्यक छ। जनताको अधिकार सुनिश्चित गर्न र विकासको गति बढाउन संविधानको मर्मअनुसार काम गर्नुपर्छ।”
निधिले सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै राजनीतिक स्थायित्वविना आर्थिक समृद्धि असम्भव भएको पनि उल्लेख गरे।
पत्रकारहरूको प्रश्नमा उनले मधेस प्रदेशमा विकास निर्माण, रोजगारी सिर्जना र कृषि आधुनिकीकरण जस्ता क्षेत्रमा सबै मिलेर काम गर्नुपर्ने र तीनै तहका सरकार संवेदनशील हुनुपर्ने आवश्यकता औंल्याए।




