बीरगन्ज,१५ फागुन । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन र होली पर्व लक्षित गर्दै पर्सामा सुरक्षा व्यवस्था कडा पारिएको छ। श्रीजङ्ग गणका गणपति एवं प्रमुख सेनानी लोकेन्द्र कार्कीका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा चार तहको सुरक्षाकर्मी परिचालन हुनेछ र तेस्रो घेरामा नेपाली सेना रहनेछ।
उनले भने, “मतदान स्थलमा कुनै जोखिम नहोस् भन्ने हाम्रो प्राथमिकता हो। जोखिम देखिएमा तत्काल शान्ति–सुव्यवस्था कायम गर्ने तयारी पूरा छ।” प्रमुख सेनानी कार्कीले मतदान स्थलको जोखिम मूल्याङ्कन गरिसकेको र उच्च निगरानीमा राखिएको जानकारी दिएका छन्।
मतपेटिका ढुवानी र मतपरिणाम व्यवस्थापनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा जिम्मेवारी लिनेछ। आवश्यक पर्दा मोबाइल क्विक रियाक्सन टोली र मोटरसाइकल गस्ती परिचालन गरिनेछ।
सुरक्षा निकायले नजिकिँदै गरेको होली पर्व शान्तिपूर्ण, सभ्य र मर्यादित रूपमा मनाउन आग्रह गर्दै, कानून विपरीत गतिविधिमा संलग्न जो–कोहीमाथि कारबाही गरिने चेतावनी दिएको छ। निर्वाचन र पर्व दुवैको सुरक्षित तथा शान्तिपूर्ण सम्पन्नताका लागि राजनीतिक दल, सरोकारवाला निकाय र आम नागरिकको सहयोग अपरिहार्य रहेको सुरक्षा प्रमुखले जोड दिएका छन्।




