काठमाडौँ,१५ फागुन । ओमप्रकाश अर्यालले मतदातालाई ढुक्क र निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।
आगामी आम निर्वाचनको तयारीबारे स्थलगत जानकारी लिन ओखलढुङ्गा पुगेका गृहमन्त्री अर्यालले जिल्ला सुरक्षा समिति, प्रमुख राजनीतिक दलका प्रतिनिधि, मुख्य मतदान अधिकृतलगायत सरोकारवालासँग छलफल गरेका थिए। सो क्रममा उनले जिल्लामा शान्तिसुरक्षा व्यवस्थालाई सुदृढ बनाइएको जानकारी दिँदै मतदातालाई कुनै भय वा दबाबविना मतदान गर्न आग्रह गरे।
कानुनविपरीत गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाउँदै उनले निर्वाचनलाई निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए। समाजका सबै वर्गले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सहकार्य गर्नुपर्ने उनले उल्लेख गरे।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कडाइका साथ कारबाही गर्नुपर्ने बताए।
त्यसैगरी, मेखबहादुर मङ्ग्रान्तिले जिल्लाको समग्र सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए भने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले राजनीतिक दलहरूसँग समन्वय गर्दै जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी अघि बढाइरहेको बताएका छन्।




