काठमाडौँ,१५ फागुन । बालेन्द्र शाहले नेपालको समग्र प्रशासनिक र विकास प्रणालीलाई उदाहरण दिँदै नेपाली कांग्रेसमाथि व्यंग्यात्मक टिप्पणी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहले चितवनमा शुक्रबार आयोजित ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै भने, “नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्रीजस्तै चल्नुपर्यो।”
उनले चुनावी प्रचारका क्रममा देशभर घुम्दा अधिकांश स्थानका समस्या उस्तै प्रकृतिका भेटिएको बताए। “जहाँ गए पनि समस्या उस्तै छन्। अब निर्वाचनपछि बन्ने सरकारले ती समस्याको समाधान गर्नैपर्छ,” उनले भने।
शाहले नेपालको अवस्था हेटौँडा सिमेन्ट कारखानासँग तुलना गर्दै व्याख्या गरे। “हाम्रो देश हेटौँडा सिमेन्ट कारखानाजस्तो छ—सबै पूर्वाधार र स्रोत छन्, तर सञ्चालन प्रभावकारी छैन। हामीलाई चलाउने जिम्मा दिनुस्, हामी चलाउँछौँ,” उनले दाबी गरे।
चितवनको सम्भावनाबारे बोल्दै उनले यस क्षेत्रले देशलाई पर्यटन विकासको मार्ग सिकाउन सक्ने बताए।
सभाका क्रममा समर्थकहरूको होहल्ला बढेपछि शाहले हल्का ठट्टा गर्दै भने, “आइ लभ यू, बोल्नै दिन्नन् यार,” जसले सभामा उपस्थित कार्यकर्तामाझ उत्साह थपिएको थियो।




