जनकपुर,१५ फागुन । सर्लाहीमा सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्या प्रकरणमा लोकसेवा आयोगका प्रतिस्पर्धी गणेश महतो मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ।
गत फागुन ३ गते साँझ मलंगवा नगरपालिका–१० मा डेरा गरेर बस्दै आएका यादवमाथि गोली प्रहार गरी हत्या गरिएको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सरोज राईका अनुसार प्रारम्भिक अनुसन्धानबाट मृतक यादव र आरोपी महतो लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धी रहेको खुलेको छ।
प्रहरीका अनुसार वैकल्पिक सूचीमा पहिलो नम्बरमा रहेका गणेश महतोले यादवलाई हटाएर सो पदमा नियुक्ति लिने उद्देश्यले हत्या योजना बनाएको देखिएको छ। “आरोपी लोकसेवाका प्रतिस्पर्धी हुन्, उनकै योजनामा हत्या भएको देखिन्छ,” एसपी राईले बताए।
प्रहरीले घटनामा संलग्न आरोपमा गणेश महतोसहित चन्द्र किशोर सिंह कुशवाहा र विजय कुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको छ। महोत्तरीको रामगोपालपुर नगरपालिका घर भएका गणेश महतो नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ परेका हुन्।
पक्राउ परेकाहरूमाथि अदालतबाट १५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




