बीरगन्ज,१६ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर व्यापक तयारी गरिएको छ। निर्वाचन व्यवस्थापनका लागि कुल दुई लाख २१ हजारभन्दा बढी कर्मचारी खटाइने भएको छ।
७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रमा रहेका २३ हजार ११२ मतदान केन्द्र तथा समानुपातिकतर्फ मात्र मत खसालिने १४३ अस्थायी मतदान केन्द्रमा उक्त सङ्ख्यामा कर्मचारी परिचालन गरिने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपाने का अनुसार पाँच सयभन्दा बढी मतदाता रहेका मतदान केन्द्रमा नौ जना र पाँच सयभन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाइने व्यवस्था मिलाइएको छ।
मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई पूर्वप्रशिक्षण प्रदान गरिसकिएको छ। ती अधिकृतहरूले नै आफ्ना केन्द्रमा खटिने अन्य कर्मचारीलाई आवश्यक प्रशिक्षण दिने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ।
यसैबीच, निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री तथा मतपत्र बिहीबारसम्म १६५ वटै निर्वाचन क्षेत्रमा पुर्याइसकिएको पनि आयोगले जानकारी दिएको छ। आयोगले शान्तिपूर्ण र व्यवस्थित मतदान सुनिश्चित गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।




