spot_img

अठराहामा टेमानीको घरदैलो तीव्र: विकास र रोजगारी मुख्य एजेन्डा

spot_img
spot_img

बीरगन्ज,१६ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक कुमार टेमानी ले चुनावी अभियानलाई तीव्र बनाउँदै शनिबार बिहान वीरगञ्ज महानगरपालिका–२६ अठराहामा स्थानीय अगुवा, कार्यकर्ता र मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेका छन्।

घरदैलो कार्यक्रमका क्रममा टेमानीले क्षेत्रको समग्र विकास, आधारभूत पूर्वाधार सुदृढीकरण र नागरिकको जीवनस्तर उकास्ने विषयलाई प्राथमिकतामा राख्दै आफ्ना एजेन्डा सार्वजनिक गरे। निर्वाचित भएपछि शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, सडक विस्तार, खानेपानी र ढल निकास व्यवस्थापनका क्षेत्रमा ठोस योजना अघि बढाउने उनले प्रतिबद्धता जनाए।

उनले युवालाई सीप विकास र स्वरोजगारका अवसर उपलब्ध गराउने, उद्योग–व्यवसायलाई प्रोत्साहन गर्ने तथा मधेस प्रदेशको आर्थिक केन्द्र वीरगञ्जको सम्भावनालाई सदुपयोग गर्दै समृद्धि हासिल गर्ने दिशामा काम गर्ने बताए। “यो क्षेत्रले लामो समयदेखि आधारभूत विकासको अभाव झेलिरहेको छ। संसद्मा पुगेर यहाँका मुद्दा प्राथमिकताका साथ उठाउनेछु,” उनले भने।

छलफलमा स्थानीयवासीले सडकको खराब अवस्था, बिजुली र खानेपानीको अनियमित आपूर्ति, युवाहरूको रोजगारी अभाव तथा स्वास्थ्य सेवाको पहुँच जस्ता समस्याबारे ध्यानाकर्षण गराएका थिए। टेमानीले ती गुनासाहरू सम्बोधन गर्ने आश्वासन दिए।

व्यवसायिक पृष्ठभूमिका टेमानी नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष र वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत हुन्। निजी क्षेत्रको अनुभवलाई राजनीतिमा उपयोग गरी परिणाममुखी काम गर्ने उनको दाबी छ।

कार्यक्रममा पूर्वमन्त्री तथा मधेस प्रदेशसभा सदस्य रमेश प्रसाद कुर्मी लगायतको सहभागिता रहेको थियो। जसपा नेपालको पर्सा–२ मा जारी मतदाता संवाद कार्यक्रमअन्तर्गत टेमानीले विभिन्न वडा र टोलमा निरन्तर घरदैलो अभियान सञ्चालन गरिरहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय