spot_img

आयोगको ‘कल सेन्टर’बाट चार हजारभन्दा बढी जिज्ञासा सम्बोधन

spot_img
spot_img

काठमाडाै,१६ फागुन ।  निर्वाचन आयोगले चुनावसम्बन्धी जानकारी र गुनासो सम्बोधनका लागि माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मार्फत चार हजारभन्दा बढी जिज्ञासा समाधान गरेको जनाएको छ। बिहीबारसम्म टेलिफोन र भ्वाइस मेल गरी कुल ४ हजार ३८ वटा जिज्ञासा तथा प्रश्न प्राप्त भई सम्बोधन गरिएको आयोगले जानकारी दिएको छ।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार प्राप्त जिज्ञासामध्ये १ हजार ९ सय ५८ मतदाता नामावलीसम्बन्धी, ३ सय ८६ निर्वाचन आचारसंहितासम्बन्धी, १ सय ५७ मतदाता शिक्षासम्बन्धी र १ हजार १ सय ११ अन्य विषयका रहेका छन्। कुलमध्ये ४ सय २६ जिज्ञासा भ्वाइस मेलमार्फत प्राप्त भएका थिए।

आयोगले मताधिकारको महत्व र मतदान प्रक्रियाबारे जानकारी दिन फागुन ३ देखि १७ गतेसम्म देशभरका प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको छ। स्वयंसेवकहरूले बस्ती तथा घरदैलोमा पुगेर नमुना मतपत्रमार्फत मतदातालाई मतदान प्रक्रिया र चुनावको महत्वबारे जानकारी दिइरहेका छन्।

विद्युतीय माध्यमबाट पनि मतदाता शिक्षा सुदृढ पारिएको आयोगले जनाएको छ। निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म ४ सय ७० सामग्री उत्पादन गरी आयोगका आधिकारिक फेसबुक, एक्स, टिकटक र युट्युबमार्फत सार्वजनिक गरेको छ।

आयोगका अनुसार यस्ता सचेतनामूलक सामग्रीले नागरिकलाई विश्वसनीय सूचना उपलब्ध गराउनुका साथै मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरण गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यसैबीच, आयोगले मतपत्र तथा आवश्यक निर्वाचन सामग्री सातै प्रदेशका सबै जिल्लामा पुर्‍याइसकेको जनाएको छ। आगामी निर्वाचनका लागि १ लाख ८६ हजार ७४ अस्थायी मतदाता कायम गरिएको र उनीहरूका लागि देशभर १ सय ४३ अस्थायी मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय