काठमाडौँ,१६ फागुन । संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट गरिएका ९५ जना नेपाली नागरिक शनिबार बिहान चार्टर विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन्। विमान बिहान ८ बजे अवतरण गरेको थियो।
अमेरिकाबाट एकै दिन यति ठूलो संख्यामा नेपाली नागरिक डिपोर्ट हुनु नेपालका लागि पहिलो घटना हो। यसअघि पनि विभिन्न समयमा डिपोर्ट भएका थिए, तर एकै उडानमा ९५ जनाको आगमनले आप्रवासन व्यवस्थापनमा चुनौती र प्रश्नहरू खडा गरेको छ।
अमेरिकी अधिकारीहरूले कानुनी हैसियत नबनाई बसोबास गर्ने, अवैध मार्गबाट प्रवेश गर्ने वा भिसा सर्त उल्लङ्घन गर्ने कारण देखाउँदै नेपाली नागरिकलाई डिपोर्ट गरिएको जानकारी दिएका छन्। डिपोर्ट हुनुअघि अमेरिकी दूतावासले नेपालस्थित अध्यागमन विभागलाई पूर्वसूचना दिएको थियो।
काठमाडौँमा अवतरणपछि डिपोर्ट भएका नागरिकको अध्यागमन प्रक्रिया पूरा गरी नेपाल प्रहरीको जिम्मा लगाइएको छ। प्रहरीले प्रारम्भिक सोधपुछ गर्दै अवैध अमेरिका पुर्याउने व्यक्ति र मानव तस्करी सञ्जालबारे जानकारी संकलन गरिरहेको छ।




