spot_img

इन्जिनियर र श्रमिकलाई दोषी देखाएर देश बन्ने होइन: विश्वप्रकाश शर्मा

spot_img
spot_img

गुल्मी, १६ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गुल्मी क्षेत्र नम्बर १ मा आयोजित चुनावी सभामा इन्जिनियर, निर्माण व्यवसायी र श्रमिकलाई दोषी देखाउँदै अपमान गर्ने प्रवृत्ति अस्वीकृत भएको बताएका छन्। उनले रास्वपा नेता बालेन शाहको शैलीलाई लक्षित गर्दै, उत्तेजनामा भाषण गर्दा देश निर्माण नहुने स्पष्ट पारे।

शर्माका अनुसार देश बनाउन स्पष्ट दृष्टिकोण, योजनाबद्ध कार्यशैली र निरन्तर परिश्रम आवश्यक छ। “पैसामात्रै भएर देश बन्दैन, सोच र संकल्प चाहिन्छ,” उनले भने।

उपसभापतिले नेपाली कांग्रेसले विकास निर्माणका कामलाई तीव्रता दिन तीन सिफ्टमा काम गर्ने योजना अघि सारेको जानकारी दिँदै, पहिले १० वर्षमा सकिनुपर्ने काम ३० वर्षमा लागेको भए पनि अब दिन–रात तीन सिफ्टमा काम गरेर ३० वर्षको काम १० वर्षमै पूरा गर्न सकिने बताए।

शर्माले नेपालमा प्रचलित ‘सूर्य अस्त, नेपाल मस्त’ भन्ने सोच त्यागेर उत्पादनशील र परिणाममुखी कार्यसंस्कृति अपनाउनुपर्नेमा जोड दिए। उनले देशलाई अघि बढाउन सबै क्षेत्रको सहकार्य, सकारात्मक सोच र कडा मेहनत अनिवार्य रहेको बताए।

कार्यक्रममा नेपाली कांग्रेसका नेता, गुल्मी–१ का प्रतिनिधि सभा उम्मेदवार डा. चन्द्र भण्डारी लगायत प्रदेश र जिल्ला स्तरका नेताहरूले पनि सम्बोधन गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय