spot_img

पत्रकार आचार्यमाथि आक्रमण गर्ने विरुद्ध जाहेरी दर्ता

spot_img
spot_img

झापा,१६ फागुन । रातोपाटीका पत्रकार अर्जुनकुमार आचार्यमाथि साङ्घातिक आक्रमण गरेको आरोपमा **नेकपा एमाले निकट ‘भोलेन्टियर्स फोर्स’**का सदस्यविरुद्ध किटानी जाहेरी दर्ता भएको छ। आचार्यले शुक्रबार साँझ इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएका हुन्।

घटनामा बिहीबार साँझ कमल गाउँपालिका जीवन चोकमा, एमाले अध्यक्ष केपी शर्मा ओलीको घरदैलो अभियानको समयमा, केही महिलाले घण्टीमा भोट हाल्ने बताएपछि एमाले कार्यकर्ताहरूले उनीहरूमाथि अश्लील गालीगलौज गरेको थियो। सोही क्रममा घटनाको भिडियो खिचिरहेका पत्रकार आचार्यलाई एमाले निकट समूहले मुक्का र बुट प्रहार गर्दै निर्घात कुटपिट गरेको थियो।

जाहेरीमा कमल गाउँपालिका–६ का युवराज पाठकसहित पाँच जनालाई मुख्य अभियुक्तको रूपमा पक्राउ गरी कारबाही गर्न माग गरिएको छ। साथै, लुटिएको मोबाइल फोन, चस्मा फिर्ता, शारीरिक तथा मानसिक क्षतिपूर्ति र उपचार खर्च उपलब्ध गराउन समेत माग गरिएको छ।

घटनाकालीन अवस्थाअनुसार एमाले अध्यक्ष ओली घटनास्थल नजिक भए पनि आफ्नै कार्यकर्ताले पत्रकारमाथि आक्रमण गर्दा उनले कुनै चासो नदेखाएको पीडितको गुनासो छ। आक्रमणपछि आचार्यलाई बागमती अञ्चल दर्ता नम्बर २५६१ सेता स्करर्पियोमा अपहरण गर्ने प्रयास गरिएको र दमकमा धम्की दिएको पनि जाहेरीमा उल्लेख छ।

घटनामा आचार्यको अनुहार, ढाड, कोखा र टाउकोमा चोट लागेको भए पनि उपचारपछि उनको अवस्था सामान्य रहेको छ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक किशोर लम्सालले किटानी गरिएका व्यक्तिहरूको पहिचान भइसकेको र खोजी जारी रहेको बताए। घटना विरुद्ध पत्रकार महासङ्घ, फ्रिडम फोरम र अन्य सञ्चार संस्थाहरूले प्रेस स्वतन्त्रताको रक्षा गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय