काठमाडाै,१६ फागुन । प्रेस काउन्सिल नेपालले आगामी निर्वाचनमा मतदातालाई भ्रममा पार्ने खालका सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्न सबै सञ्चार माध्यमसँग आग्रह गरेको छ।
काउन्सिलको हिजो बसेको बैठकले निर्वाचनजस्तो संवेदनशील समयमा उम्मेदवार वा दललाई नकारात्मक प्रभाव पार्ने, निष्पक्ष मतदानमा बाधा पुर्याउने खालका समाचार, विश्लेषणात्मक रिपोर्ट तथा विदेशी सञ्चारमाध्यमबाट प्रसारित सामग्रीसमेत नप्रसारण गर्न चेतावनी दिएको हो।
बैठकले विदेशी सञ्चारमाध्यमबाट विशेष गरी वृत्तचित्रको नाममा निर्वाचनमा असर पुर्याउने सामग्री प्रसारित हुने गरेको र त्यसको नियमन प्रेस काउन्सिलको सिधा अधिकारमा नपरेको भन्दै, यस विषयमा नेपाल सरकार र निर्वाचन आयोगसँग कूटनीतिक समन्वय गरेर प्रक्रिया अघि बढाउन पत्राचार गर्ने निर्णय गरेको जनाएको छ।
प्रेस काउन्सिलले मतदातामा भ्रम सिर्जना गर्न सक्ने खालका सूचना वा सामग्रीको जिम्मेवारी सञ्चार माध्यमले आफैं लिनुपर्ने चेतावनी पनि जारी गरेको छ।




