spot_img

होलीमा मोटरसाइकल निषेध, डीजे र चुनावी प्रचारमा पूर्ण रोक

spot_img
spot_img

बीरगन्ज,१६ फागुन । जिल्ला प्रशासन कार्यालय, पर्साले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विभिन्न कडा सुरक्षा व्यवस्था लागू गरेको छ।

यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग र गृह मन्त्रालयबाट प्राप्त निर्देशन, जिल्ला सुरक्षा समितिको निर्णय तथा सर्वदलीय–सर्वपक्षीय बैठकको सहमतिअनुसार आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जानकारी दिए।
तीन दिन सीमाना बन्द
जारी सूचनाअनुसार फागुन १८ गते राति १२:०० बजेदेखि फागुन २१ गते राति १२:०० बजेसम्म पर्साका भारतीय सीमासँग जोडिएका सम्पूर्ण नाका बन्द रहनेछन्। मौन अवधिभर विदेशी नम्बर प्लेटका यात्रुवाहक सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ।
होली र रमजान घरमै मनाउन आग्रह
निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै होली र रमजान पर्व सार्वजनिक स्थलमा भीडभाड गरी मनाउन निषेध गरिएको छ। चौर, चौक तथा खुला स्थानमा मेला, महोत्सव, सांगीतिक कार्यक्रम वा मञ्च निर्माण गर्न रोक लगाइएको छ।

मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, जबरजस्ती रंग दल्ने वा सार्वजनिक शान्ति भंग गर्ने गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ। राजनीतिक दल वा उम्मेदवारको झण्डा, चुनाव चिन्ह अंकित भेष्ट, टि–सर्ट, गम्छा, टोपी आदि लगाएर पर्व मनाउन समेत रोक लगाइएको छ।

होलीका दिन फागुन २० गते मोटरसाइकल प्रयोग गरी पर्व मनाउन पनि निषेध गरिएको प्रशासनले जनाएको छ।
मतदान दिन सवारी पासको व्यवस्था
मतदानको दिन एम्बुलेन्स, रेडक्रस, दूध तथा औषधि बोक्ने सवारी, खानेपानी ट्याङ्कर, दमकल, दूरसञ्चार, शव वाहन, अस्पताल र सुरक्षा निकायका सवारीसाधनलाई पास आवश्यक नपर्ने स्पष्ट गरिएको छ। अन्य सवारीसाधनका लागि निर्वाचन अधिकृत तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा फागुन १९ गते जिल्ला प्रशासन कार्यालयबाट सवारी पास वितरण गरिने जनाइएको छ।
डीजे र प्रचारप्रसारमा प्रतिबन्ध
फागुन १६ गतेदेखि अन्तिम मत परिणाम घोषणा नभएसम्म पर्सा जिल्लाभर राजनीतिक प्रचार–प्रसारमा पूर्ण रोक लगाइएको छ। साथै धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूमा डीजे लगायत ध्वनि प्रदूषण हुने बाजा बजाउन पनि प्रतिबन्ध गरिएको छ।

जारी सूचनामा आदेशको पालना नगरे प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय