झापा,१६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन ले आगामी संसद्मा बलियो राप्रपा आवश्यक रहेको बताएका छन्।
झापा को बाह्रदशीस्थित राजगढ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले पार्टीले कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल नगरेको स्पष्ट पारे।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै देश र जनताको पक्षमा रहेको दाबी गर्दै अहिलेको व्यवस्थामा परिवर्तन नभएसम्म देश ठुलो संकटमा फस्ने चेतावनी दिए। उनले मतदातालाई भने, “राप्रपालाई भोट हालेको कारण कहिल्यै पछुताउनु पर्दैन। हामीले सिंहदरबार जोगाउने र जलाउनेको बीचमा पृथक पहिचान बोकेर काम गर्दै आएका छौं।”
लिङ्देनले वर्तमान परिस्थितिमा दुई प्रकारको अतिवाद हाबी भएको बताउँदै देशलाई स्थिर र समन्वयकारी शक्ति आवश्यक रहेको औँल्याए। आगामी फागुन २१ गतेको निर्वाचनमा राप्रपालाई बहुमत दिन आम मतदातालाई आग्रह गर्दै उनले स्पष्ट पारे, “आगामी संसद्मा बलियो राप्रपा चाहिन्छ। सोचविचार गरेर मतदान गर्नुहोस्।”




