सर्लाही,१६ फागुन । बलरा नगरपालिका–१०, सुदामा मा करिब ६० वर्षीय भनु महतो र उनकी ५६ वर्षीय पत्नी निर्मलादेवी महतो झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
प्रहरीका अनुसार दम्पतीको शव घरबाट करिब ५०० मिटर उत्तर–पश्चिममा रहेको गोठघरभित्र बाँसको बलोमा प्लास्टिकको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा भेटिएको थियो। स्थानीयले शनिबार बिहान करिब ८ बजे घटना देखेपछि इलाका प्रहरी कार्यालय गडहिया मा खबर गरेका थिए।
सूचना पाउने बित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले फरेन्सिक टोली परिचालन गरी अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राई का अनुसार घटनाको कारण यकिन भइसकेको छैन। प्रारम्भिक अनुमान अनुसार आत्महत्या हुन सक्ने बताइएको भए पनि वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




