वीरगंज, १६ फागुन – गगन कुमार थापाले नेपाललाई हामी सबैको साझा फुलबारी बनाउन चाहेको बताएका छन्। नेपाली कांग्रेस पर्साले वीरगंजस्थित बीपी उद्यानमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले जनआन्दोलनमा सहादत भएका युवाहरूको सपना नेपाली कांग्रेसले मर्न नदिने प्रतिबद्धता व्यक्त गरे।
देश बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै सभापति थापाले आफूलाई ‘नयाँ’ भन्नेहरू वास्तवमा नयाँ नभएको आरोप लगाए। विगतलाई सम्झिँदै उनले देशलाई दुर्घटनातर्फ धकेल्न सबै दल केही न केही रूपमा जिम्मेवार रहेको स्वीकार गरे। सत्ता बनाउने र गिराउने खेलमै सबै दल लागेका कारण अहिले दुर्घटनाको दोष कसैलाई मात्र दिन नमिल्ने उनको भनाइ थियो।
“जितभन्दा ठूलो जनताको विश्वास हो,” उनले भने, “जनताले जसलाई जुन स्थान दिन्छन्, त्यही स्थानमा बस्ने आचरण र संस्कार सबै दलमा हुनुपर्छ।”
‘नयाँ’ भनिएकाहरू पनि विगतमा सत्ताको खेलमै संलग्न व्यक्तिहरू रहेको उल्लेख गर्दै उनले केही नेताहरूलाई गृहमन्त्री र प्रधानमन्त्री बन्न हतारो देखिएको आरोप लगाए। कसैसँग पनि देश बदल्ने जादु नभएको उल्लेख गर्दै उनले राजनीतिक सुझबुझ नभएको व्यक्तिको हातमा देश गए फेरि दुर्घटनामा जान सक्ने खतरा रहने भन्दै सबैलाई सचेत रहन आग्रह गरे।
वीरगंज क्रान्तिको भूमि रहेको उल्लेख गर्दै सभापति थापाले कांग्रेस बदलिएको र अब कांग्रेसकै नेतृत्वमा देशको दशा र दिशा बदल्ने संकल्पका साथ आफूहरू अघि बढेको बताए। तराई–काठमाडौं फास्ट ट्र्याकबारे प्रश्न उठाउँदै उनले अन्य देशमा यस्ता सडक एक वर्षमै बन्ने भए पनि नेपालमा १० वर्ष किन लाग्छ भनेर प्रश्न गरे।
“देशलाई अब स्पीडमा अघि बढाउनुपर्छ,” उनले भने, “तर स्पीडमा कुदाउने ड्राइभरको मनस्थिति पनि ठिक हुन जरुरी छ।” उनले त्यो क्षमता केवल नेपाली कांग्रेससँग रहेको दाबी गरे।
दिउँसो वीरगंज जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहे पनि अन्य कार्यक्रममा व्यस्त भएका कारण थापा करिब बेलुका ६ बजे वीरगंज पुगेका थिए। उनलाई सुन्न गाउँ–गाउँबाट आएका केही कांग्रेस कार्यकर्ता फर्किसकेका भए पनि सभामा उल्लेखनीय उपस्थिति रहेको थियो।




