spot_img

मधेस प्रदेशमा ११ हजार ६६५ क्विन्टल धान खरिद

spot_img
spot_img

धनुषा,१७ फागुन। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मधेस प्रदेश कार्यालय, जनकपुरधामले चालु आर्थिक वर्षमा महोत्तरी र धनुषाका किसानबाट ११ हजार ६६५ क्विन्टल धान खरिद गरेको जनाएको छ।

कार्यालयका प्रादेशिक प्रमुख निर्मल थापाका अनुसार तीन महिनाको अवधिमा ३०० किसानबाट कुल रु ४ करोड २३ लाख २४ हजार बराबरको धान खरिद गरिएको हो। प्रतिक्विन्टल रु ३ हजार ६२८.३३ का दरले धान किनिएको कार्यालयले जनाएको छ।

गत मङ्सिर २८ गतेदेखि सुरु गरिएको खरिद कार्यक्रम अन्तर्गत बजार मूल्यभन्दा उच्च दर तोकिएकाले किसानको उल्लेख्य सहभागिता देखिएको सहायक प्रबन्धक गङ्गाप्रसाद साहले जानकारी दिए। कार्यालयले प्रतिकिसान अधिकतम ५० क्विन्टलसम्म धान खरिद गर्ने व्यवस्था गरेको छ भने स्थानीय तहको सिफारिसका आधारमा केही किसानबाट ५५ क्विन्टलसम्म धान लिइएको छ।

धान बिक्री गर्ने किसानमध्ये लक्ष्मीनिया गाउँपालिका, नगराइन नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका तथा बलवा नगरपालिका का किसानको संख्या बढी रहेको जनाइएको छ।

यस वर्ष १३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको भए पनि गोदाममा भण्डारण क्षमता अभाव भएपछि हाल खरिद प्रक्रिया रोकिएको छ। कार्यालयका अनुसार धान खरिदअघि गुणस्तर परीक्षण गरिने र मापदण्ड पूरा गरेको धान मात्र खरिद गरिने व्यवस्था छ।

सरकारले धान बिक्रीको भुक्तानी किसानको बैंक खातामै सिधै पठाउने व्यवस्था गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय