spot_img

निर्वाचन आउन ४ दिन बाँकी: मतदानका दिन यी सवारीसाधनलाई पास नचाहिने

spot_img
spot_img

काठमाडौं,१७ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदानका दिन सवारी सञ्चालनसम्बन्धी विशेष व्यवस्था सार्वजनिक गरेको छ। आयोगले अत्यावश्यक सेवालाई असर नपर्ने गरी सवारी आवागमन व्यवस्थित गर्न “सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२” अनुसार केही सवारीसाधनलाई पास नचाहिने स्पष्ट पारेको हो।

आयोगका अनुसार दमकल, एम्बुलेन्स, शववाहन तथा खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक पर्नेछैन। यस्ता सवारीसाधनले सम्बन्धित प्रयोजनका लागि मात्र सञ्चालन गर्नुपर्ने र असम्बन्धित यात्रु बोक्न नपाइने उल्लेख गरिएको छ।

त्यस्तै, दूरसञ्चार, खानेपानी, विद्युत् तथा ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन र अस्पताल सेवा सञ्चालनमा प्रयोग हुने सवारी (चिकित्सक तथा स्वास्थ्यकर्मीलाई घर–अस्पताल आवतजावत गराउने) लाई पनि पास नचाहिने जनाइएको छ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका यात्रु बोक्ने सवारीसाधनलाई विमानस्थलदेखि घर वा होटल र घर वा होटलदेखि विमानस्थलसम्म आवतजावत गर्दा पास आवश्यक नपर्ने आयोगले स्पष्ट पारेको छ।

यसैगरी, हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, शिशु बोकेकी महिला, क्रियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति तथा अशक्त ज्येष्ठ नागरिक मतदाता र उनीहरूका एक जना सहयोगी बोकेका सवारीसाधनलाई पनि निर्बाध सञ्चालनको व्यवस्था मिलाइएको छ।

‘सिडी’ नम्बर प्लेट भएका कूटनीतिक नियोगका सवारीसाधन, आयोगबाट परिचयपत्र प्राप्त पर्यवेक्षकले प्रयोग गर्ने सवारी (परिचयपत्रमा उल्लिखित क्षेत्रभित्र मात्र), राष्ट्रिय मानवअधिकार आयोगका अनुगमन सवारी तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन पनि सहज रूपमा सञ्चालन हुन सक्नेछन्।

यसैबीच, निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रतिनिधि सम्मिलित एकीकृत सवारी आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना गरिएको छ। उक्त डेस्कमार्फत काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका लागि आवश्यक सवारी पास जारी भइरहेको आयोगले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय