जनकपुर,१७ फागुन । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र बन्दै जाँदा धनुषा जिल्लामा उम्मेदवारहरूको खर्च पारदर्शितातर्फ भने सुस्तता देखिएको छ। जिल्लामा दर्ता भएका १५४ जना उम्मेदवारमध्ये हालसम्म ८८ जनाले मात्रै निर्वाचन प्रयोजनका लागि अनिवार्य बैंक खाता खोलेका छन्।
मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका प्रमुख रोमबहादुर महतका अनुसार निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक उम्मेदवारले निर्वाचनसम्बन्धी आम्दानी तथा खर्च छुट्टै बैंक खातामार्फत सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ। आयोगले तोकेको खर्च सीमाभित्र रहेर सबै वित्तीय विवरण अद्यावधिक राख्नुपर्ने उनले स्पष्ट पारे।
चार वटा निर्वाचन क्षेत्र रहेको धनुषामा प्रतिनिधिसभातर्फ ५४ जनाले उम्मेदवारी दिएका छन् भने समग्रमा प्रदेश र प्रतिनिधिसभा गरी १५४ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।
यसैबीच, जिल्ला आचारसंहिता अनुगमन अधिकृत कृष्ण गैरका अनुसार निर्वाचन आचारसंहिता विपरीत विभिन्न स्थानमा टाँसिएका झन्डा, ब्यानर, पोस्टरलगायत करिब एक लाख ५० हजार प्रचार सामग्री नियन्त्रणमा लिइएको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईंटेलले निर्वाचनका लागि आवश्यक प्रशासनिक तथा सुरक्षा तयारी पूरा भइसकेको जानकारी दिए। जिल्लाभर ६४५ मतदान केन्द्र र ३२ मतदानस्थल निर्धारण गरिएको छ, जसमध्ये १९४ स्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ।
निर्वाचनका लागि ३ हजार ८७५ कर्मचारी परिचालन गरिने भएको छ भने ४ हजार ५०० जना निर्वाचन प्रहरी छनोट भइसकेका छन्। प्रशासनले सामाजिक सञ्जालमार्फत चरित्र हत्या वा भ्रामक सामग्री प्रसारण नगर्न आग्रह गर्दै प्रमाणसहित भेटिए कडा कारबाही गरिने चेतावनी दिएको छ।




