बीरगन्ज,१७ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं.२ मा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ। संरक्षण नेपालद्वारा आयोजना र महिला, कानून र विकास मञ्चको सहयोगमा मकवानी गाउँमा एकदिने कार्यक्रम संचालन गरिएको थियो।
कार्यक्रममा करिब ६० जना मधेसी, मुस्लिम, दलित, थारु र सिमाकुत समुदायका महिला तथा किशोरी सहभागी भएका थिए। सहभागीहरूलाई मतपत्रको बनावट, मतदान गर्ने सही तरिका, मतपत्र डुबाउने प्रक्रिया, निर्वाचन आचारसंहिता, मतदाताको अधिकार र मतदानका क्रममा अपनाउनुपर्ने सावधानीबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाका अनुसार कार्यक्रमको एक उद्देश्य बदर मत घटाउन सहभागीहरूलाई व्यवहारिक अभ्यास मार्फत तयार पार्नु थियो। सहभागीहरूले नमूना मतपत्रमा अभ्यास गर्दै मतदान प्रक्रियाप्रति आत्मविश्वास बढाउने मौका पाएका थिए।
वडा अध्यक्ष विजय गैरले कार्यक्रममा सहभागी महिलामा मतदानप्रति जागरूकता बढेको बताए। “हाम्रो वडामा विभिन्न समुदायका महिलाहरूको बसोबास छ र शैक्षिक अवस्था कमजोर भएकाले मतदानमा समस्या आउन सक्थ्यो। यस कार्यक्रमपछि उनीहरूमा स्पष्टता आएको छ,” उनले भने।
संरक्षण नेपालका कृष्ण प्रसाद यादवले सहभागी महिला अधिकांशले मतपत्र भर्ने र मतपेटिकामा सुरक्षित राख्ने अभ्यास सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिएका छन्।
स्थानीय तहमा सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले आगामी निर्वाचनमा महिला सहभागिता बढाउने अपेक्षा गरिएको छ।




