spot_img

खाडी मुलुकका लागि श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

spot_img
spot_img

काठमाडौं,१७ फागुन । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण सरकारले खाडी मुलुक जाने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्ने प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले इजरायल, अमेरिका र इरानबीच विकसित द्वन्द्वका कारण सुरक्षा जोखिम बढेको बताउँदै वैदेशिक रोजगारीका लागि दिइँदै आएको श्रम स्वीकृति रोकिएको जानकारी दिए। हालसम्म वैदेशिक रोजगार विभागले विदेश जान लागेका श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्दै आएको थियो।

हालै इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेपछि इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै प्रतिआक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इरानले संयुक्त अरब इमिरेट्स, कतार, ओमान र कुवेतमा रहेका अमेरिकी सैन्य बेसहरूलाई निशाना बनाएपछि ती देशमा रहेका नेपाली कामदारको सुरक्षाप्रति चासो बढेको छ।

सरकारले सम्बन्धित देशमा जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका कामदारलाई पनि तत्काल घर फर्किन अनुरोध गरेको छ। तनावका कारण सुरक्षा सतर्कता उच्च पारिएको भन्दै विमानस्थलमा रोकिएका नेपालीलाई घर फर्कन आग्रह गरिएको हो।

मन्त्री भण्डारीका अनुसार श्रम मन्त्रालयमा रहेको कल सेन्टर २४सै घण्टा सक्रिय अवस्थामा राखिएको छ। सम्भावित जोखिम बढेमा नेपालीहरूको उद्धार गर्नुपर्ने अवस्था आए त्यसका लागि आवश्यक तयारी र योजना बनाउने कामसमेत अगाडि बढाइएको उनले बताए।

‘परिस्थिति कसरी विकसित हुन्छ भन्ने आधारमा आवश्यक परेमा उद्धारका लागि पनि तयारी अवस्थामा छौं,’ मन्त्री भण्डारीले भने।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय