spot_img

निर्वाचनविरोधी गतिविधि सह्य हुँदैन, दोषीलाई कानुनी कारबाही हुन्छ : गृहमन्त्री

spot_img
spot_img

काठमाडाैं,१७ फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनविरोधी कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्दै संलग्न जो–कोहीलाई कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।

आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत बझाङ पुगेका गृहमन्त्री अर्यालले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी निर्वाचन सुरक्षाबारे जानकारी लिएका थिए। त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतका निर्वाचनमा देखिएका कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे।

“विगतका गल्ती–कमजोरी यसपटक दोहोरिन दिनुहुँदैन। उपलब्ध जनशक्ति र स्रोत–साधनको अधिकतम उपयोग गरेर निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन सम्पन्न गर्छौँ,” उनले भने।

गृहमन्त्री अर्यालले प्रशासनिक संयन्त्र सजग र निष्पक्ष रहेको उल्लेख गर्दै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए। उनले भौगोलिक विकटता वा अन्य कुनै बहानामा अर्काको नाममा मतदान गर्ने, मृत व्यक्तिको नाममा भोट हाल्ने तथा बुथ कब्जा गर्ने जस्ता गतिविधि कदापि सह्य नहुने स्पष्ट पारे।

“त्यो चाहे राष्ट्रसेवक होस्, सर्वसाधारण, मतदाता वा दलका प्रतिनिधि—निर्वाचनविरोधी गतिविधिमा संलग्न जो–कोहीलाई नियन्त्रणमा लिएर कानुनको दायरामा ल्याइनेछ,” उनले चेतावनी दिए। उनले सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई स्वच्छ, स्वस्थ र प्रतिस्पर्धात्मक वातावरण कायम राख्न सहयोग गर्न आग्रह गर्दै निर्वाचन प्रक्रियालाई मर्यादित र विश्वसनीय बनाउनु सबैको साझा दायित्व भएको बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय