काठमाडौँ,२४ फागुन । जेनजी प्रदर्शनको घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्की लाई बुझाएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले आइतबार सिंहदरबारमा प्रतिवेदन हस्तान्तरण गरेको हो।
प्रतिवेदनमा उल्लेख भएका निष्कर्षहरू भने हालसम्म सार्वजनिक गरिएको छैन। सरकारले असोज ५ मा भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनको घटनाबारे छानबिन गर्न उक्त आयोग गठन गरेको थियो।
आयोगमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य रहेका थिए।
छानबिनका क्रममा आयोगले प्रदर्शनका घटनाबारे १५० भन्दा बढी सरकारी अधिकारी तथा प्रत्यक्षदर्शीसँग बयान लिएको जनाएको छ। उक्त प्रदर्शनका बेला देशमा केपी शर्मा ओली नेतृत्वको सरकार थियो। त्यस समयमा गृह मन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल थिए।




