बीरगन्ज,२६ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर–२ मा प्रतिस्पर्धा गरेका ३१ उम्मेदवारमध्ये २८ जनाको जमानत जफत भएको छ। कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत फिर्ता नहुने प्रावधान अनुसार उनीहरूको जमानत जफत भएको हो।
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानु ३० हजार ४७० मतसहित विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री अजयकुमार चौरसियाले १९ हजार ८१० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे भने नेकपा (एमाले) की उम्मेदवार रीमा कुमारी यादवले ११ हजार ६०५ मत ल्याउँदै आफ्नो जमानत जोगाउन सफल भइन्। यी तीन जना बाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको हो।
जमानत जफत हुने उम्मेदवारहरूमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोक कुमार टेमानी (२ हजार ६४२ मत) रहेका छन्। टेमानी वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत हुन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बिना जयसवालले १ हजार ९९९ मत प्राप्त गरिन्। उनी यसअघि राप्रपाबाट समानुपातिक सांसद रहिसकेकी छन्।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज कुमार चौधरीले ९२३ मत प्राप्त गरेका छन्। चौधरी पार्टीका केन्द्रीय सदस्यसमेत हुन्। निर्वाचनको पूर्वसन्ध्यामा उनको सवारीसाधनबाट शंकास्पद वस्तु फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो र उनी हाल पनि प्रहरी हिरासतमा रहेका छन्।
त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका अमिताभ बच्चन दास तत्मा (३३०), जनमत पार्टीका श्याम प्रसाद गुप्ता (२२८), आम जनता पार्टीकी रन्जु कुमारी साह (२०३), नेपाल जनता पार्टीका राष्ट्रिय अध्यक्ष सन्तोष कुमार पटेल (१८७) र उज्यालो नेपाल पार्टीका कृष्णा मुरारी प्रजापति (१४८) को पनि जमानत जफत भएको छ।
यसैगरी श्रम संस्कृति पार्टीका पुन्देश्वर प्रसाद यादव (८३), जन अधिकार पार्टीका देवशंकर यादव (३०), जय मातृभूमि पार्टीका वीरेन्द्र प्रसाद (२१), नेपाल लोकतान्त्रिक पार्टीका विकास कुमार साह (२२) र नेपाल मजदुर किसान पार्टीका उमेश कुशवाह (५) को पनि जमानत जफत भएको छ।
स्वतन्त्रतर्फ लक्ष्मी नारायण गुप्ता (१००), शिव बचन ठाकुर लोहार (६३), उमेश प्रसाद साह तेली (१७), रवीन्द्र कुमार चौधरी (१६), सन्तोष महतो (१२), राकेश कुमार सहनी (१०), किशोरी प्रसाद यादव (९), मनोज साह कानु (७), कृष्णा कुमार गिरी (५), महेश महतो धानुक (५), किसमती देवी (३), साहेब प्रसाद राम (३), रामनरेश प्रसाद चौरसिया (२) र रोशन प्रसाद अहिर (१) को पनि जमानत जफत भएको छ।
पर्सा–२ मा कुल ९५ हजार १२० मतदाता रहेकोमा ६५ हजार ८७८ जनाले मतदान गरेका थिए। तीमध्ये ६१ हजार ३१० मत सदर भएको निर्वाचन आयोगले जनाएको छ।




