नवलपरासी,२७ फागुन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को दाउन्ने क्षेत्रमा पाँच वटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन्। दुर्घटना गए राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक भएको हो।
प्रहरीका अनुसार भारतमा दर्ता भएको कन्टेनरले एकतर्फी सडकमा ओभरटेक गर्ने प्रयास गर्दा बस, मोटरसाइकल लगायत पाँच सवारीसाधन आपसमा ठोक्किएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार सोही कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका–६ का करिब ३० वर्षीय अमर कार्की र पछाडि सवार रास्कोट–७ का करिब २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन्। त्यस्तै यात्रुबाहक बसमा सवार अन्य छ जना पनि घाइते भएका छन्।
घाइते हुनेहरूमा रोल्पा स्मृति गाउँपालिका–४ का बस चालक शङ्कर विष्ट, रामेछाप मन्थली नगरपालिका–१२ का विनोदकुमार अछामी, रोल्पा नगरपालिका–४ लिवाङका उदीराम विष्ट, धरान–१५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका–२ का दर्शन पोख्रेल, सुनसरी नगरपालिका–५ का चन्द्रसिंह थापा र प्युठान स्वर्गद्वारी नगरपालिका–७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल रहेका छन्।
सबै घाइतेलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा लगिएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न कन्टेनर चालक भने फरार रहेका छन् र उनको खोजी भइरहेको प्रहरीले बताएको छ।
दुर्घटनापछि केही समय अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।




